आज दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत बीच प्रतिस्पर्धा हुनेछ।आजको दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साढे ६ बजे सुरु हुनेछ । भारत अहिले सम्म साफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली रहेको छ ।
च्याम्पियनसिपको पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणको उपाधि जितेको भारत यस पटक पनि च्याम्पियन हुने लक्ष्यसहित नेपाल आएको हो । अघिल्लो संस्करणमा सेमिफाइनलमै रोकिएको भारत यस पटक फाइनलमा पुगेर उपाधि जित्न चाहन्छ तर भारतको यो अभियानमा उसलाई सबैभन्दा ठूलो डर घरेलु टोली नेपालको रहेको छ ।त्यसैले फाइनलमा मात्रै नेपालसँग भेट होस् भन्ने चाहना भएपनि भारतले सेमिफाइनलमै नेपाललाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो ।
दक्षिण एसियाली प्रतियोगितामा नेपालका लागि भारत नयाँ र नौलो प्रतिद्वन्द्वी होइन । विगतमा यी दुई टोलीको भेट हरेकजसो प्रतियोगिताका फाइनलमा हुने गरेको छ । तर, पछिल्लो समय भने यी चिरपरिचित प्रतिद्वन्द्वी सेमिफाइनलमै भिड्न थालेका छन् । साफ च्यम्पियनसिपको ६ संस्करण सकिँदा यी दुई राष्ट्रले चार पटक फाइनल र दुई पटक सेमिफाइनलमा भिडेका छन् ।