सप्तरीको सुरुंगा नगरपालिकामा अनैतिक सम्बन्धको आशंकामा देवर र भाउजूको जबर्जस्ती गाउँलेले विवाह गराएर गाउँ निकाला गरिएको खुलेको छ । सुरुंगा नगरपालिकामा ७ हरिपुरका भाउजू र देवरलाई अनैतिक सम्बन्धको आरोप लगाएर विवाह गरी पञ्चायती बसी गाउँ निकाला गरिएको हो । पर्ववडाध्यक्ष धनिकलाल साहको नेतृत्वमा भएको पञ्चायतमा यस्तो निर्णय गर्दै दुबैजनालाई गाउँ निकाला गरिएको हो । वडाध्यक्ष साहले पञ्चायतीमै दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको स्वीकारेका छन्। देवर र भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले रातभर बाँधेर राखेका थिए । दुई छोरा र नातिनातिना रहेका महिलाका पति र दुवै छोरा रोजगारीका लागि विदेशमा छन् । मंगलबार बिहान हरिपुरका पूर्ववडाध्यक्ष धनिकलाल साहसहित स्थानीयले गाउँमै पञ्चायती राखेर विवाह गराएर गाउँ निकालाको निर्णय गरे अनुसार पञ्चायतीमै आरोपित पुरुषलाई भाउजू नाता पर्ने महिलाको सिउँदोमा सिन्दुर हाल्न लगाइ गाउँ निकाला गरिएपछि आरोपित पुरुषका श्रीमती र दुई नाबालक सन्तान बिचल्ली परेका छन् । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले घटनवारे बिहीबार मात्र थाहा पाएको बताए । अनैतिक सम्बन्धको आशंकामा गाउँलेले विवाह गराएर गाउँ निकाला गरेपछि दुबैजना सम्पर्कविहीन रहेको र घटना बारे अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताएका छन ।