नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमवार विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक गरेको हो। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ ।
त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको हो । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जाल मार्फत ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुने बताएको थियो ।
टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।
टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानद्वारा जारी बार्षिक क्यालेन्डरमा छ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जाने भएको हो ।