हाल देशभर पश्चिमी एवंम स्थानीय वायुको प्रभाव कायमै रहेको कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भइरहेको हो ।
जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख गरिएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहि आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ भने हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो ।