नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ ।क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकेट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो ।
खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एक दिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको तीन भेटमा नेपालले तीनै खेलमा जित निकालेको थियो । खेलमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २७ रन बनाएका हुन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा क्यानडाका तीव्र गतिका ‘बलर’ डिलोन हेलिगरले पाँच विकेट लिएभने अखिल कुमार र अंश पटेलले समान दुई दुई विकेट लिएका हुन ।