जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिँदै उनले पदबहाली गरेका हुन् । स्वास्थ्यमन्त्रीका रूपमा यो उनको दोस्रो कार्यकाल हो । यसअघि २०७५ जेठ १८ देखि करिब डेढ वर्ष उनी स्वास्थ्यमन्त्री भएका थिए । पदबहाल गरेलगत्तै मन्त्री यादवले दुईवटा निर्णय गरेका छन् । निजामती ऐनमा स्वास्थ्य सेवा ऐन समायोजन गर्न कार्यदल बनाउने र संघीय अस्पतालहरूमा उपचार र शल्यक्रियालाई सहज बनाउन डिजिटल प्रणाली लागू गर्ने निर्णय उनले गरेका हुन् । यादवले चार वर्षपछि पुनः स्वास्थ्य मन्त्रालयको जिम्मा लिन पाउँदा आफू हर्षित भएको बताएका छन । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हाल संघीय निजामती ऐनमा स्वास्थ्य सेवालाई नसमेटिएका कारण मन्त्री यादवले संघीय स्वास्थ्य ऐन बनाउनका लागि कार्यदल बनाउन गरेको निर्णय निकै महत्त्वपूर्ण छ । सरकारी अस्पतालमा उपचार लिन लामो लाइन लाग्नुपर्ने बाध्यतालाई कम गर्नुका साथै शल्यक्रिया गर्न लामो समय पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न डिजिटल प्रणाली लागू गर्ने निर्णय पनि महत्त्वपूर्ण रहेको बुढाथोकीको भनाइ छ । ‘यो सिधै जनताले पाउने सेवासँग जोडिएको विषय भयो । अहिले नियमित उपचारका लागि टिकट किन्न नै लामो लाइन बस्नुपर्ने बाध्यता छ । केही अस्पतालमा डिजिटल प्रणाली लागू भइसकेको पनि छ । त्यसलाई सुधार गर्ने र नभएकामा थप गर्नुपर्छ,’ उनले भने, ‘सरकारी अस्पतालमा शल्यक्रियाको पालो पाउन पनि लामो समय कुर्नुपर्छ । त्यसलाई कसरी कम गर्न सकिन्छ, त्यो पनि अध्ययन गरेरै अगाडि बढ्नुपर्ने छ । डिजिटल प्रणाली लागू गर्न सके दुवै सेवालाई सहज बनाउन सहयोग गर्छ ।’