सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापाले २०७४ सालको असोजदेखि २०७९ साल माघसम्मको अवधिमा सात करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई पाँच करोड ३३ लाख रुपैयाँ रकम बराबर बिगो कायम गरी जरिबाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ । यस्तै उनले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नका लागि उनीहरूलाई पनि प्रतिवादी बनाएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन ।