महन्थ कुमार कापर/सिराहा ।
उमेरले अहिले २६ वर्ष लागेँ । तर परदेश बस्न थालेको करिब ७ वर्ष हुन लाग्यो । बाध्यताले गर्दा १९ वर्षको उमेर मै मलेसिया जानु पर्यो । त्यहाँ ६ वर्ष काम गरेर फर्किएको ८ महिना मात्रै हुँदै छ । तर म यो देशमा टिक्न सकिंन । त्यसैले फेरि जाँदै छु खाडीको देश यूएई ।
बुवा आमा सोझा छन् । सम्पत्ति पनि छैन । घरको चुलो परदेश नगई बल्दैन । अझ हामी तराईको मान्छेलाई त बहिनीको बिहे गर्नु पर्ने अर्को ठुलो जिम्मेवारी हुन्छ । मेरो काँधमा पनि दुई बहिनीको बिहेको जिम्मेवारी छ । त्यसैले पनि परदेश जानु परेको छ ।
यो केही समय देशमा बिताउँदा थुप्रै कुराको अनुभव भयो । मलेसियामा ३५ हजार कमाउन जति दुःख गर्न पर्छ नि यहाँ त १० हजार कमाउन पनि त्यसको दोब्बर दुःख गर्न पर्ने रहेछ ।
जति गर्न खोज्दा पनि घरको चुलो बल्नै गाह्रो भएपछि हामीलाई परदेश लाग्नै पर्छ । तर अहिले यो चाडबाडको बेलामा परदेश हिँड्न पर्दा मन भारी भएको छ ।
परिवारसँगै दशैँ नमनाएको पनि धेरै वर्ष भइसक्यो । यो पालि चाहिँ सँगै मनाउन पाइन्छ कि भन्ने लागेको थियो । तर यसपालि पनि यस्तै हुने भयो ।
हाम्रो पनि गाउँघरमा दशैँ धूमधामसँग मनाइन्छ । मेला लाग्छ । दुर्गा पूजा गरिन्छ । तर हामी गरिब दुःखीलाई कहाँ यस्तो भाग्य मिल्ने रहेछ र । भाग्यमै थिएन सायद भनेर चित्त बुझाएको छु ।
दुःख त घरमा पनि लाग्यो होला । तर बाध्यताको अघिल्तिर भावना कमजोर बन्ने रहेछ । आमाको मन कति दुखेको होला । चाडबाडको बेलामा छोरो परदेश हिँड्यो भन्ने त उहाँलाई पनि लागेको होला । तर भन्न सक्नुहुन्न । तर यो रहर होइन बाध्यता हो ।
हाम्रो तराईमा त सबैको अवस्था नै खराब छ । विदेश नगई त घरको चुलो बल्न पनि गाह्रो छ ।
कम्तीमा पनि सरकारले हामीजस्तो मजदुरी गर्नेलाई महिनाको २० हजार रुपैयाँ मात्र कमाइ हुने वातावरण मात्र बनाइदिए पनि सायद यसरी परदेश हिँड्न पर्दैन थियो कि ।
महिनामा २० हजार रुपैयाँ मात्र कमाइ भयो भने त हामी पनि खुसी खुसी आफ्नै देशमा बस्न पाउने थियौँ नि । सरकारले यति वातावरण बनाइदिए त यस्तो भारी मन लिएर विदेश हिँड्न पर्दैन थियो ।
तर म सरकारलाई भन्न चाहन्छु तपाईँहरू हामीले पठाएको रेमिट्यान्सले खुसीयाली मनाइरहनुभएको छ । रमाइरहनुभएको छ । तर युवाहरूलाई यस्तो बाध्यता बनाइदिनुभएको छ त्यो उचित छैन ।
तपाईँहरू ठुलो ठुलो महलमा टीका जमरा लगाएर विजया दशमी मनाउनुहोस् । म त परदेश हिँडेँ । अब अर्को महिना रेमिट्यान्स पठाउँछु ।