मधेश प्रदेश सरकारले लामो समयदेखि सम्पर्कविहीन तीन सय १० सहकारी संस्थाबारे खोजबिन थालेको छ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत असोजमा प्रदेश सहकारी ऐन, २०७९ र २५ फागुनमा सहकारी नियमावली, २०८० जारी भएपछि खोजबिन गर्दा तीन सय १० वटा सहकारी गायब भएको फेला परेको जनाएको छ । सम्पर्कविहीन हुनेमा सिराहाका एक सय २१, सप्तरीका ९४, धनुषाका ५६ र महोत्तरीका ३९ सहकारी छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत मंगलबार सूचना जारी गर्दै सम्पर्कविहीन सहकारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनेको छ । ती सहकारी संस्था सम्पर्कमा नरहेको, विवरण नबुझाएको, कोपोमिस प्रणालीमा आबद्ध नभएको र कोपोमिसमा आबद्ध भएकाले पनि प्रतिवेदन पेस नगरेको तथा पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार राममणि अधिकारीले जानकारी दिए ।
सहकारी ऐन, २०७९ र सहकारी नियमावली, २०८० लागू भएपछि मधेश सरकारलाई आठ सय २२ वटा सहकारी संस्था हस्तान्तरण गरिएको थियो । ती सहकारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको सहकारी महाशाखामा आफ्ना मासिक प्रतिवेदन बुझाउनुपर्ने प्रावधान तोकिएको थियो । तर, प्रदेश सरकारले सहकारीसम्बन्धी कानुन बनाउन ढिलाइ गरेपछि त्यसको फाइदा उठाउँदै सहकारीहरू आफूखुसी सञ्चालन हुँदै आएका थिए ।प्रदेश सरकारले सहकारी ऐन र सहकारी नियमावली बनाई अनुगमन थालेपछि तीन सय १० वटा सहकारी संस्था लामो समयदेखि सम्पर्कविहीन रहेको फेला परेको रजिस्ट्रार अधिकारीले बताए । प्रदेशमा हस्तान्तरण भई आएका आठ सय २२ सहकारीमध्ये दुई सय १५ सहकारीले नियमित रूपमा मासिक प्रतिवेदन बुझाउने गरेका छन् ।
लामो समयदेखि सम्पर्कविहीन ३१० सहकारीको खोजी गर्दै मधेश सरकार
Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
Related Posts
Add A Comment