मिथिला माध्यमिकी परिक्रमा बिहीबार औरही पुगेको छ । धनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीमा रहेको मिथिलाविहारी मन्दिर तथा जनकपुरधाममा रहेको सुन्दर सदनबाट मिथिला विहारी तथा किशोरीजीको डोलाको नेतृत्वमा प्रारम्भ हुने १५ दिवसीय यात्रा जनकपुरधामको वरिपरिका विभिन्न धार्मिक स्थलहरुमा विश्राम गर्ने गरेका छन् । भारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै बिहीबार औरही पुगेको छ । गर्मी बढेपछि यात्रीहरु चिसोका कपडाहरु नलिई सामान्य कपडा लिएर परिक्रमा गएका थिए तर, बुधबार पानी परेपछि उनीहरुलाई समस्या भोग्नु परेको छ । यात्रीहरु बिहीबार औरही बाट भारतको करुणा, विसौल र कल्याणेश्वर हुँदै फागु पूर्णिमाको पूर्व सन्ध्यामा पुनः जनकपुरधाम फर्केर अन्तर गृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने छ । मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका सयौं यात्रीहरु घरबाटै भोजन र आवासको व्यवस्था सहित सहभागी हुने गरेका छन् । यस यात्रामा सहभागी हुँदा मोक्षको प्राप्ति हुने जनविश्वास रहिआएको छ ।