आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि सोमबार र जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा मंगलबार र बुधबार होली पर्व मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।