अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अप लाची हाई स्कूलमा १४ वर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो । गोली चलाउने बालक पनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक गरी ९ जना घाइते भएका छन् ।
प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको बताएको हो ।अमेरिकाको विद्यालयहरुमा गोली चल्ने घटना पटक पटक हुने गरेका छन् । सन् २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औँ घटना हो । यस अघि सन् २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो भने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेको हो । अमेरिकाको राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् ।